Breaking News

फेसबुकमा मार्क जुकरबर्गलाई ब्लक गर्न असम्भव | यस्तो छ कारण


फेसबुकका जन्मदाता मार्क जुकरबर्ग र उनकी पत्नी प्रिसिला चानको फेसबुक प्रोफाइल निकै विशेष छ । हामीले फेसबुकमा जो कोहीको फेसबुक अकाउन्ट ब्लक गर्न सक्छौं । तर, तपाईंलाई थाहा छ ? यी दुईलाई फेसबुकमा ब्लक गर्नै सकिँदैन ।
आखिर आफ्नै हात जगन्नाथ भन्ने उखान जुकरबर्गको मामिलामा पनि लागू भएर होला । आफ्नै कम्पनी फेसबुकमा आफुलाई नै ब्लक गर्न मिल्ने किन बनाउँथे र ? सायद उनले ब्लक गर्न नमिल्ने कुनै टेक्निक लगाए होलान्, भन्ने सोच्नुभएको होला । तर यसको खास कारण चाहिँ फरक छ । मार्क वा प्रिसिलाको प्रोफाइलमा गएर तपाईंले यदि ब्लक बटन थिच्नु भयो भने तपाईंको स्क्रिनमा ब्लक एरर लेखेको एउटा नोटिफिकेसन बोर्ड देखाउनेछ ।
वास्तवमा मार्क र प्रिसिला यति धेरैपटक ब्लक भइसकेका छन् कि फेसबुकले उनीहरुको प्रोफाइलमा यो फिचर नै निस्क्रिय गर्नुपर्यो । जुकरबर्ग आफ्नो व्यक्तिगत पेजमा फेसबुकका अपडेट्स, आफ्नो निजी जिन्दगीसँग जोडिएका खबर तथा समसामयिक विषयहरुमा आफ्नो विचारहरु पोष्ट गर्दछन् । फेसबुक एल्गोरिदमको मद्दतले ती पोष्टहरु मानिसहरुको न्यूज फिडमा जान्छन् । जो मानिसहरु ती पोष्ट हेर्न चाहँदैनन् उनीहरुले जुकरबर्गलाई ब्लक हान्थे । करोडौँ मानिसले ब्लक गर्न थालेसँगै फेसबुकले जुकरबर्गको प्रोफाइलमा ब्लकिङलाई प्रतिबन्धित गर्ने निर्णय गरेको हो ।

यस्तो खाले प्रतिबन्ध नयाँ होइन । सन् २०१० देखि नै जारी छ र अहिले त एउटा वेबसाइट नै छ जसले जुकरबर्गलाई ब्लक गर्न असम्भव छ भन्ने बताउँछ। फेसबुकका अनुसार जुकरबर्ग र उनकी पत्नीलाई विशेष व्यवहार कहिल्यै गरिएको छैन । उनका पोष्टहरु यति धेरै मन पराइएनन् कि अटोमेटेड सिस्टम नै बन्द गर्न बाध्य भयो फेसबुक । फेसबुकका प्रवक्ताले भनेका छन्, ‘यो एरर कुनै खास अकाउन्टका लागि होइन । यो ती हरेक अकाउन्टमा लागू हुनेछ जसले धेरै ब्लकको सामना गर्नुपर्दछ । हामीले हाम्रो सिस्टममा सुधार गर्ने कोसिस गरिरहेका छौं र यसमाथि ध्यान दिइरहेका छौं ।’

No comments

Disqus Shortname

© २००६-२०१६ Onlinekhabar.com सर्वाधिकार सुरक्षित