काठमाडौंको लाजिम्पाटमा हिँड्दाहिँड्दै करेन्ट लाग्यो, दुबै खुट्टा जलेर लामा घाइते
लाजिम्पाटस्थित सडक किनारमा हिँडिरहेका एक पैदलयात्री बिजुलीको पोलबाट करेन्ट लागेर गम्भीर घाइते भएका छन् ।
मंगलबार बिहान उत्तरढोका सडकमा हिँडिरहेको बेला करेन्ट लागेर रामेछापको बेथान-३ घर भएका २९ वर्षीय राजु लामा घाइते भएका हुन् । उनका दुबै खुट्टा जलेका छन् । लामाको बीर अस्पतालमा उपचार भइरहेको छ ।सडक किनारमा हिँडिरहेको बेला बिजुलीको पोलमा करेन्ट सट भएर झिल्का उठेको र त्यसैबाट करेन्ट लागेको स्थानीयले बताएका छन् ।
काठमाडौंका सडक किनारका पोलहरुमा जथाभावि टाँगिएका तारमा सट हुने र आगो लाग्ने घटनाहरु सामान्य जस्तै भएका छन् । तर, सरोकारवाला निकायले चासो नदिएको स्थानीयको गुनासो छ । केही दिन अघि नयाँबानेश्वर, अनामनगर लगायतका क्षेत्रमा पनि पोलहरुमा करेन्ट सट भएर आगो लागेको थियो ।
करेन्ट चुहावट हुनसक्ने भएकाले बिजुलीका खम्बा वा पोलहरुमा छुनु हुँदैन ।
टिप्परमा करेन्ट लागेर चालकको मृत्यु
सोमबार काठमाडौंको पानीपोखरी मोडमा बा २ क ११२५ नम्बरको टिप्परले गिट्टी झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा छुँदा करेन्ट लागेर चालकको मृत्यु भएको छ । सिन्धुपाल्चोक मेलम्ची घर भई हाल ललितपुर लगनखेल बस्ने ३० वर्षीय नवराज माझीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
करेण्ट लागेर घाइते भएका टिप्परमा सवार रामेछाप घर भई हाल ललितपुर लगनखेल बस्ने २६ वर्षीय रामबहादुर तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उदयपुरमा करेन्ट लागेर कर्मचारी घाइते
यसैबीच उदयपुरको त्रियुगा नगरपालिका ९ मा पनि मंगलबार ११ हजार भोल्टको करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारी गम्भीर घाइते भएका छन् ।
ट्रान्समिटरमा चढेर लाइन काट्ने क्रममा त्रियुगा ३ का ३९ वर्षीय डोमी चौधरी घाइते भएका हुन् । शरिरका विभिन्न भागमा डढेर घाइते भएका चौधरीको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
No comments