Breaking News

एलईडी बल्ब प्रकरण: कुलमानलाई असफल बनाउने, आगामी हिउँदमा लोडसेडिङ ! LED bulb issue Kulman


यती खेर लोडसेडिङका अभियन्ताहरु सकृय बनेका छन्, र तिहारपछिको सुख्खा याममा नेपालमा लोडसेडिङ गराई छाड्ने अभियान मा लागेका छन् । यसको भित्री उद्देश्य हो- कुलमान घिसिङको अभियानलाई असफल बनाउने र आगामी हिउँदमा जसरी पनि लोडसेडिङ गराएर  इन्भर्टर, ब्याट्री, इमर्जेन्सी लाइट र जेनेरेटरको ब्यापार गर्ने ।

भारतको सरकारी कम्पनी ईईएसएल सँग नेपाल विद्युत प्राधिकरणले २ करोड थान एलईडी बल्ब खरिद गर्ने सम्झौताबाट नेपाल सरकारलाई ८६ करोड घाटा लगाइएको र यसमा कमिसनको खेल भएको भन्दै कुलमान घिसिङमाथि भ्रष्टाचारको आरोप लगाएर यो सम्झौता असफल पार्ने र पुनः लोडसेडिङलाई निम्तो दिने अभियान सुरु गरेका छन् ।

आफूमाथि आरोप लागेपछि घिसिङले केही दिनअघि पत्रकार सम्मेलन गरेर आँशु झार्दै कमिसन खाएको प्रमाणित भएमा आफू फाँसीमा झुण्डिन तयार रहेकोसमेत बताएका थिए ।




कसरी हटेको थियो लोडसेडिङ ?

केपी ओलीले आफू प्रधानमन्त्री भएका बेला दुई वर्षमा लोडसेडिङ हटाउने प्रतिवद्धता जनाएका थिए । तर, त्यसबेला कुलमान घिसिङलाई कुनै जिम्मेवारी दियिएन ।

केपी ओलीको सरकार ढलेपछि प्रचण्ड प्रधानमन्त्री बने भने जनार्दन शर्मा उर्जामन्त्री भए । उनीहरुले कुलमानलाई प्राधिकरणको जिम्मेवारी दिए तर कुलमान घिसिङ प्राधिकरणमा आएपछि उनको विरोधमा प्राधिकरणका कर्मचारीले आन्दोलन गरे र कर्मचारीहरुले कुलमानलाई कार्यालयमा छिर्न नदिने घोषणा गर्दै विज्ञप्ति निकाले ।

कतिपय सञ्चारमाध्यमले समेत टुकी बालेर मात्रै लोडसेडिङ अन्त्य हुन सक्छ भनेर लेख्न समेत भ्याए । कतिपयले कुलमान ले कुलेखानी रित्याएर लोडसेडिङ हटाउने गफ दिए भन्दै खिसी गरे ।

तर, कुलमान घिसिङले सबैका अगाडि काठमाडौंको दैनिक २१ घण्टा लामो लोडसेडिङ हटाएरै देखाए । विजुली को व्यवस्थापन गर्दै,  विजुली बेचेर पैसा कमाइरहेका बिजुली चोरहरुलाई गिरफ्तार गराए । प्राधिकरणकै कर्मचारी पनि कारवाही गरे । उद्योगपतिहरुलाई विजुली बेचेर कमिसन खानेहरुको जालो भत्काए । र, उद्योगलाई समेत सहजरुपमा विद्युत उपलब्ध गराए ।

यति हुँदाहुँदै सुख्खायाममा पानी सुक्ने भएकाले लोडसेडिङ हुने डर थियो । यसवी प्राधिकरणले बिजुली बचाउ का लागी सर्वसाधारणलाई अपील गर्‍यो । पिक आवरमा हिटर लगायतका सामान प्रयोग नगर्न उपभोक्तालाई आग्रह गरियो । भारतबाट थप बिजुली ल्याउने सम्झौता गरेर ३५ मेगावाट थप बिजुली आयात गरियो र सुख्खायामको लोडसेडिङलाई समेत म्यानेज गरियो ।

कुलमानको विरोध किन त ?

बल्ब खरिद प्रकरणमा कुलमान घिसिङको विरोध हुनुका पछाडि दुईवटा कारण रहेको प्राधिकरण स्रोत बताउँछ ।

पहिलो कारणः बेट्री सोलार र इन्भर्टर बेच्न ब्यापारिहरु जसरी भए पनि लोडसेडिङ गराएर कुलमानलाई असफल बनाउन चाहन्छन्। कर्मचारी उचालेर कार्यालाय प्रवेशमा रोक लगाउने, ट्रान्सर्फमर पट्काएर बिजुली काट्ने र पोल ढालेर बत्ती निभाउने कार्यहरु पनि यसवीचमा हुँदै आएका थिए । र, यो विरोध पनि त्यसैको पछिल्लो श्रृंखला हुन सक्छ ।

दोस्रो कारणः हाल उर्जा मन्त्रालय सम्हालेका माओवादी नेता जनार्दन शर्माविरुद्ध चुनावी फण्डा गर्ने माओवादी विरोधी योजनाको कोपभाजनमा कुलमानलाई पार्न र उनलाई रुवाउन खोजिएको हुन सक्छ ।

४ सय रुपैयाँमा बल्ब किनिरहेका उपभोक्तालाई कुलमानले १४० रुपैयाँकै गुणस्तरीय कम्पनीको बल्ब उपलब्ध गराउनु कहाँनेर कमिसनखोरी भयो ?

आगामी हिउँदमा लोडसेडिङ हुन सक्ने ?

प्राधिकरणले गतवर्ष जसोतसो लोडसेडिङ हटाए पनि आगामी वर्षको सुख्खायाम मा विद्युतका माग निकै चुनौतीपूर्ण भएको छ । यस वर्ष कुनै नयाँ ठूला विद्युत आयोजना पूरा नभएका र तामाकोशीको विद्युत ०७५ सालको मंसिरमा मात्रै उत्पादन हुने भएकोले
मुलुकलाई गत वर्षजस्तै लोडसेडिङबाट मुक्त गराइराख्नु निकै चुनौतीपूर्ण बनेको छ ।
यस्तो जटिल अवस्थामा आगामी हिउँदमा देशको राजधानी लगायतका मुख्य शहर र उद्योग धन्दाहरुलाई कसरी लोडेसिङबिाट मुक्त गराइराख्ने भन्ने विकल्पका रुपमा कुलमान घिसिङले भारतबाट २ करोड इलईडी बल्ब खरिद गर्ने योजना अघि सारेका हुन् । र, यही योजना ल्याएवापत अहिले उनले रुनुपर्ने र स्पष्टीकरण दिँदै, झुण्डिन्छु भन्दै हिँड्नुपर्ने अवस्था आएको हो ।

के हो एलईडी बल्ब खरिद प्रकरण ?

कुलमानको पहलमा हुन लागेको बल्ब खरिद प्रक्रियामा ३८ रुपैयाँमा पाइने बल्बलाई ६५ रुपैयाँ हालिएको र भस्टचार आरोप लगाईएको छ। नेपाली बजारमा अहिले एलईडी बल्बलाई प्रतिगोटा ४ सय रुपैयाँसम्म पर्छ । चाइनिज बल्वहरु सस्तोमा पाइए पनि त्यसको गुणस्तर हुँदैन । तर, कुलमान घिसिङले अन्तरराष्ट्रिय ब्राण्डेड बल्ब नेपाली उपभोक्तालाई बढीमा १४० रुपैयाँमा दिन सकिने योजना बनाए । भारतको सरकारी कम्पनीसँग प्रतिगोटा भारु ६५ (नेरु १०४) मा दुई करोड थान बल्ब किन्ने र विभिन्न करसहित जोड्दा नेपाली उपभोक्ताले यो बल्व बढीमा १४० रुपैयाँमा किन्न सक्ने गरी घिसिङले यो योजना अघि सारे ।

कहाँनेर कुलमानले अपराध गरे ? यसबारे जनस्तरबाटै तथ्यमा टेकेर बहस गरौं । र, कुलमानमाथि न्याय गरौं । अन्यथा, हामीले कुलमानलाई मात्रै रुवाउने छैनौं आगामी तिहारपछि फेरि लोडसेडिङको सामना गर्नुपर्ने छ ।

No comments

Disqus Shortname

© २००६-२०१६ Onlinekhabar.com सर्वाधिकार सुरक्षित