देउवालाई प्रश्न सोध्ने युवाको चुनौति, आफु देश बनाउन प्रधानमन्त्री बन्ने रहर | Sagar Dhakal | Sajha Sawaal
अघिल्लो साता प्रधानमन्त्री शेरबहादुर देउवाले बीबीसी साझा सवालमा एक युवाको आलोचना खेपे । देशको दुरावस्थाप्रति चिन्ता लिइरहने युवा हुन् सागर । ती युवकले सोधेको एउटा प्रश्नमा देउवाले ‘तपाई बढ्ता बोल्दै हुनुहुन्छ’ भनेपछि यो विषयले सामाजिक सञ्जाल निकै दिनसम्म तरंगित बनायो ।
तर प्रधानमन्त्रीलाई प्रश्न सोध्ने २६ वर्षीय सागर ढकालको मन-मस्तिष्कमा उब्जेको प्रश्न भने अझै मत्थर भएको छैन । उनी अझै पनि आफैंलाई सोधिरहेका छन्, आखिर मेरो प्रश्नमा के खराबी थियो ?‘म अझैसम्म बुझ्न सकिरहेको छैन प्रधानमन्त्रीज्यू किन त्यसरी क्रोधित हुनुभयो?’ ‘मैले त एउटा नागरिकको नाताले आफ्नो मनमा रहेको जिज्ञासा प्रधानमन्त्रीसमक्ष राखेको थिएँ' ढकाल भन्छन ।
देशको प्रधानमन्त्री जनताबाट आउने जस्तोसुकै प्रश्नको पनि सामना गर्न तयार रहनुपर्ने उनको तर्क छ ।ठूला राजनीतिक दलका सीमित नेताहरुका कारण देशको यो ‘विजोग’ हुन पुगेको उनी टिप्पणी गर्छन् ।‘५०-६० वर्षअघि हाम्रो देश कुन स्थानमा थियो र आज कुन स्थानमा छ ?’ उनले प्रश्न गरे, ‘त्यतिबेला सबै जनता मिलेर बसेका थिए । जातजातिबीच भाँडभैलो थिएन । राष्ट्रियता हराएर जातीयता हावी भएको छ । देशका युवाहरु विदेशमा हाड घोटिरहेका छन् । हामी विश्वकै गरिब देशका रुपमा चिनिन थालेका छांै । यो सबैको जिम्मेवार को हो ? ‘
उनलाई सबैभन्दा बढी बिझेको विषय हो राजनीतिक भागबण्डा र कोटा प्रणाली ।
‘न्यायाधीश नियुक्तिदेखि राजदूत नियुक्तिसम्म दलहरुबीच भागबण्डा गरिन्छ । सरकारी जागिरमा योग्यता र क्षमता होइन, जात हेरिन्छ । राजनीतिक भागबण्डा र जातका आधारमा आरक्षणको अन्त्य नभएसम्म देश उँभो लाग्दैन,’ उनले ठोकुवा गरे ।
उनले उदाहरण दिए, ‘मानौं तपाईं घर बनाउँदै हुनुहुन्छ । अब घर बनाउने मिस्त्री खोज्दा तपाईंले सीप र दक्षता हेर्नुहुन्छ कि राजनीतिक आस्था र जात हेर्नुहुन्छ ? राजनीतिक आस्था र जातका आधारमा मिस्त्रिहरु ल्याउनुभयो भने तपाईंको घर कस्तो बन्ला ? हो नेपालको यही घरको जस्तै हालत हुनेवाला छ ।’
उनी भन्छन्- ‘राजनीतिक भागबण्डाका आधारमा स्तरहीन मान्छे मन्त्री बन्छन्, अनि उनीहरुले पढेलेखेका र अनुभवी सचिवहरुलाई थर्काउँछन् । यो सिस्टमलाई कसरी गतिलो मान्ने ?’
अन्य देशका मन्त्रीहरुसँग नेपालका मन्त्रीहरुको तुलना गर्दा लाज लाग्ने उनले बताए ।
उदाहरण दिँदै उनले भने, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादमिर पुटिनले लाइभ कार्यक्रममा कस्ता-कस्ता प्रश्न फेस गर्नुपर्छ ? उनीहरु त कहिल्यै यसरी उत्तेजित बनेको हामीले देखेका छैनौं ।’
गुल्मी घर भएका सागर पेशाले इन्जिनियर हुन् । राजनीतिमा उनको गहिरो अभिरुची छ ।
उनले दुई वर्षअघि पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट हाइड्रो मेकानिकल इन्जिनियरिङको पढाइ पूरा गरेका थिए । पुल्चोक क्याम्पसमै बसेर उनले विगत ३ वर्षदेखि ‘लो हेड हाइड्रपावर रिसर्च’मा काम गरिरहेका छन् । अन्तर्राष्ट्रिय पत्रिकाहरुमा आफ्ना रिसर्च पेपर प्रकाशित भएका सागर बताउँछन् ।
उर्जा मन्त्रालय अन्तरगत ४१० मेघावाटको नलसिङगाड हाइड्रोपावर विकास समितिमा हाइड्रो मेकानिकल इन्जिनियरका रुपमा पनि उनी काम गरिरहेका छन् । उनी पढाउछन् पनि । पुल्चोकमा १२ कक्षाको परीक्षा दिइसकेका र इञ्जिनियरिङ पढेका विद्यार्थीहरुलाई गणित र ड्रोइङ पढाउँछन् । अहिलेसम्म ७-८ वटा किताब पनि लेखिसकेको उनले सुनाए ।
आफूले सोधेको प्रश्नलाई प्रधानमन्त्रीले गलत रुपमा बुझेको सागरको तर्क छ । उनले भने, ‘मैले नेपालमा अक्सफोर्डमा पढेको प्रधानमन्त्री चाहियो भनेको थिइनँ, उदाहरण मात्र दिएको थिएँ । नेपालमा पनि पढाईमा अब्बल व्यक्तिहरु राजनीतिमा आएर मन्त्री, प्रधानमन्त्री बन्नुपर्छ भन्ने मेरो आशय थियो ।’
प्रधानमन्त्री देउवालाई कडा प्रश्न सोधेपछि कतिपयले सागरलाई एमालको बिल्ला पनि भिराए । तर, उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झन् कडा प्रश्न सोध्न चाहन्छन् । उनले आफूले सोध्न चाहेको प्रश्न त खुलाएनन्, तर यति भने, ‘मेरो प्रश्नको जवाफ उहाँले पनि दिन सक्नुहुन्न र यसैगरी उम्लिनुहुन्छ ।’ एमाओवादी अध्यक्ष प्रचण्डले त झन् आफूलाई फेसै गर्न नसक्ने उनको दाबी छ ।
भविष्यमा देशको प्रधानमन्त्री बन्नेछु भन्ने महत्वाकांक्षा बोकेका युवा हुन् सागर । आज देउवा बसेको कुर्सीमा एक दिन आफैंलाई देख्न चाहन्छन् । ‘म अहिले जग खनिरहेको छु, भविष्यमा प्रधानमन्त्रीको चुनाव लड्ने हो र देशको विकास गर्ने हो,’ उनले छाति पिट्दै भने, ‘मलाई विश्वास छ, सम्पूर्ण देशवासीले मलाई विश्वास गर्नुहुनेछ ।’
प्रधानमन्त्री बनेपछि के-के गर्ने भनेर उनले मार्गचित्र अहिलेदेखि नै तयार गरिरहेका छन् । उनले फेसबुकमा राखेका मार्गचित्रमा लामा-लामा २० बुँदा छन् । यसलाई अद्योपान्त पढिदिन उनले आग्रह गरे ।आफूलाई तत्काल प्रधानमन्त्री बनाइदिने हो भने पनि शेरबहादुरले भन्दा कयौं गुणा राम्रा काम गरेर देखाइदिने उनको चुनौति छ । ‘मैले धेरै पैसा कमाउनका लागि प्रधानमन्त्री बन्ने सपना देखेको होइन,’ उनले भने, ‘देशका जनतालाई धेरै पैसा कमाउने बनाउनका लागि हो ।’
No comments