Breaking News

बिमानबाट घिस्याउँदै यात्रुलाई बाहिर निकालियो (भिडियो)


अमेरिकाको युनाइटेड एयरलाइन्सको एउटा विमान उड्नुअघि सिटमा बसेका एक यात्रुलाई जबरजस्ति घिस्याउँदै बाहिर निकालिएको छ । सिट क्षमताभन्दा बढी संख्यामा बुक गरिएकाले यात्रुलाई सुरक्षाकर्मीले बलपूर्वक बाहिर निकालेका हुन् ।

 बिमानमा रहेका एक यात्रुले उक्त घटनाको भिडियो आफ्नो मोबाइलमा रेकर्ड गरेका थिए । सो ५० सेकेन्डको भिडियो एकैछिनमा भाइरल बनेको थियो । यात्रुप्रति यस्तो हर्कतलाई लिएर धेरैले एयरलाइन्सको आलोचना गरेका छन् । यसरी निकालिने यात्रुको परिचय सार्वजनिक भएको छैन, तर उनी एक एशियाली डाक्टर भएको बताइएको छ । सिटबाट सुरक्षाकर्मीले पाखुरामा समातेर घिस्याउँदा विरोध जनाइरहेका ती व्यक्तिको चश्मा आँखाबाट तल झरेको थियो भने सर्ट सोहोरिएर माथि पुगेको थियो । विमान शिकागोको ओ’हारे अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलुकी ५ः४० बजे लोइसभिल्लेका लागि उड्नुपर्ने थियो । तर, लफडा भएपछि उडान २ घन्टा ढिला भयो । यस घटनामा संलग्न एक सुरक्षा अधिकृतलाई विदामा राखिएको अधिकारीहरुले बताएका छन् ।


संघीय यातायात विभागले एयरलाइन्सले ओभरबुकिङसँग सम्वन्धित नियम पालना गरे-नगरेको बारे अनुसन्धान थालेको छ । यूनाइटेड एयरलाइन्स्का प्रवक्ता चार्ली होबर्टले सोमबार एक अन्तरवार्तामा भने, ‘हामीले उनलाई विनम्रतापूर्वक सम्झाउने धेरै प्रयास गर्‍यौं, तर केही सीप नलागेपछि प्रहरीको सहयोग लिएका हौं ।’ शिकागो उड्ययन विभागले एक विज्ञप्ति प्रकाशित गरी भनेको छ कि यो घटना एयरलाइन्स सम्वन्धी विद्यमान नीति-नियमसँग मेल खाँदैन । घटनाको समीक्षा गर्ने क्रममा एक सुरक्षा अधिकृतलाई विदामा राखिएको विज्ञप्तिमा उल्लेख छ । तर, ती अधिकृतको नाम खुलाइएको छैन । यसकारण निकालियो यूनाइटेड एयरलाइन्सले बिमानको क्षमताभन्दा चारवटा बढी सिट बुक गराएको थियो र उ चाहन्थ्यो कि चार जना यात्रु स्वेच्छिकरुपमा विमानबाट उत्रिउन् । तर, कोही पनि यात्रुहरु बिमानबाट उत्रिन नचाहेपछि एयरलाइन्स आफैंले चार यात्रुको छनोट गर्‍यो । छानिएका चार यात्रुमध्ये एक जोडी दम्पत्तिले सजिलै एयरलाइन्सको आग्रह स्वीकार गरे । एशियाली डाक्टरकी पत्नी भएको विश्वास गरिएकी एक महिला पनि आफू उत्रिन तयार भइन् । तर डाक्टर भने आफ्नो सिटमा बेल्ट कसेर बसिरहे । चालक दलको सदस्यहरु आएर उनलाई बिमानबाट निस्कन आग्रह गरे । तर आफ्नो भोलीपल्ट अस्पताल जानुपर्ने भन्दै उनी उत्रिन मानेनन् । त्यसपछि प्रहरीलाई बोलाइयो । र, प्रहरीले उनलाई घिस्याउँदै निकाले ।

 

No comments

Disqus Shortname

© २००६-२०१६ Onlinekhabar.com सर्वाधिकार सुरक्षित